इरानले चीनबाट ४०० वटासम्म हवाई प्रतिरक्षा मिसाइल किन्ने तयारी
काठमाडौं — अमेरिका र इसराइलसँगको पछिल्लो सैन्य द्वन्द्वपछि कमजोर बनेको हवाई प्रतिरक्षा प्रणाली सुदृढ बनाउन इरानले चीनबाट ठूलो परिमाणमा हवाई प्रतिरक्षा मिसाइल खरिद गर्ने तयारी गरेको छ।
समाचार संस्था रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार इरानले चीनसँग ३०० देखि ४०० वटासम्म हवाई प्रतिरक्षा मिसाइल खरिद गर्ने सम्झौता गरेको छ। यो सम्झौता हङकङस्थित झोङकिङ बाओशाङ इन्टरनेसनल इन्भेस्टमेन्टमार्फत भएको बताइएको छ। उक्त कम्पनीले इरानी पक्ष र चिनियाँ आपूर्तिकर्ताबीच मध्यस्थकर्ताको भूमिका खेलेको स्रोतहरूको दाबी छ।
इरानले खरिद गर्न लागेको प्रणाली काँधमा बोकेर प्रहार गर्न मिल्ने ‘म्यानप्याड्स’ (MANPADS) प्रकारका हतियार हुन्। यसमा चिनियाँ क्युडब्ल्यु–१२ र एफएन–१६ मिसाइल प्रणाली समावेश रहेको बताइएको छ। पहिलो खेप केही साताभित्रै इरान पुग्ने रोयटर्सले उल्लेख गरेको छ।
स्रोतहरूका अनुसार उक्त सम्झौताको मूल्य करिब ६ देखि ७ करोड अमेरिकी डलर बराबर रहेको छ। युद्धपछि छोटो दूरीको हवाई सुरक्षा क्षमता विस्तार गर्न इरानले अघि बढाएको यो सबैभन्दा ठूलो प्रयासमध्ये एक भएको बताइएको छ।
इरानको विदेश मन्त्रालयले यसबारे तत्काल प्रतिक्रिया दिएको छैन। सामान्यतया यस्ता सैन्य खरिद सम्झौता गोप्य राखिने गरिन्छ। चिनियाँ विदेश मन्त्रालयले भने इरानलाई हतियार बिक्री गरेको भन्ने विवरण निराधार रहेको जनाएको छ।
पछिल्ला महिनाहरूमा अमेरिका र इसराइलले इरानका मिसाइल, ड्रोन तथा हवाई सुरक्षा कार्यक्रमसँग सम्बन्धित सैन्य संरचनामा आक्रमण गरेका थिए। त्यसको जवाफमा इरानले पनि ब्यालेस्टिक मिसाइल र ड्रोनमार्फत प्रत्याक्रमण गरेको थियो।
विश्लेषकहरूका अनुसार पछिल्लो द्वन्द्वले आधुनिक लडाकु विमान र अत्याधुनिक हतियारबाट सैन्य अड्डा तथा रणनीतिक संरचना जोगाउन इरानलाई चुनौती देखाएको छ। काँधमा बोकेर प्रहार गर्न मिल्ने हवाई प्रतिरक्षा प्रणाली भने साना समूहले सञ्चालन गर्न सक्ने, छिटो स्थान परिवर्तन गर्न मिल्ने र नष्ट गर्न कठिन हुने भएकाले प्रभावकारी मानिन्छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भए सैन्य कारबाही पुनः सुरु हुन सक्ने चेतावनी दिएका छन्। दुई सातासम्म चलेको बमबारीपछि अमेरिकाले अस्थायी रूपमा सैन्य कारबाही स्थगित गरेको भनिए पनि क्षेत्रीय तनाव कायमै रहेको छ।
रोयटर्सका अनुसार सम्झौता कार्यान्वयन भए इरानको छोटो दूरीको हवाई सुरक्षा क्षमता उल्लेख्य रूपमा बढ्नेछ भने चीन–इरान सैन्य सम्बन्ध थप बलियो बन्न सक्नेछ।
स्रोतहरूले सम्झौता भइसके पनि मिसाइल पठाउने समय, संख्या र व्यवस्थापनसम्बन्धी विवरण परिवर्तन हुन सक्ने बताएका छन्। पहिलो खेप चीनको पश्चिमी सहर उरुम्चीबाट पठाउने योजना रहेको र पाकिस्तान हुँदै इरान पुर्याउने विकल्पमाथि छलफल भइरहेको बताइएको छ।
तर पाकिस्तानको सेनाको जनसम्पर्क निकाय (आईएसपीआर) ले चीनबाट इरानमा हवाई सुरक्षा हतियार पठाउन पाकिस्तान प्रयोग नहुने जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
रक्षा विज्ञहरूका अनुसार क्युडब्ल्यु–१२ र एफएन–१६ जस्ता मिसाइल इन्फ्रारेड प्रविधिमा आधारित जमिनबाट आकाशमा प्रहार गरिने प्रणाली हुन्। यस्ता हतियार कम उचाइमा उड्ने लडाकु विमान, हेलिकप्टर र ड्रोनविरुद्ध प्रयोग गर्न सकिन्छ।
युरोपेली अधिकारीहरूले पनि चीनले इरानलाई क्युडब्ल्यु–१२, क्युडब्ल्यु–१८ र क्युडब्ल्यु–१९ जस्ता मिसाइल प्रणाली बिक्रीबारे छलफल गरिरहेको जानकारी आफूहरूसँग रहेको बताएका छन्।
क्युडब्ल्यु–१२ नयाँ पुस्ताका क्युडब्ल्यु–१८ र क्युडब्ल्यु–१९ भन्दा कम क्षमताको भए पनि ड्रोन र कम उचाइमा उड्ने लक्ष्यविरुद्ध प्रभावकारी हुन सक्ने रक्षा विश्लेषकहरूले बताएका छन्।
पश्चिमी गुप्तचर अधिकारी र एक इरानी अधिकारीका अनुसार हवाई मार्गबाट पठाउँदा जोखिम हुने भएकाले चिनियाँ सैन्य सामग्री स्थलमार्गबाट गोप्य रूपमा पठाउने विकल्पमाथि पनि अध्ययन भइरहेको छ।
यसअघि पनि इरानले चीनसँग क्रुज मिसाइल खरिदसम्बन्धी छुट्टै सम्झौता गरेको विवरण सार्वजनिक भएको थियो। उक्त सम्झौता कार्यान्वयनको अन्तिम चरणमा पुगेको भनिए पनि त्यसको अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन।