हमासको निःशस्त्रीकरण सम्झौता भएको ट्रम्पको दाबी, मध्यस्थकर्तालाई धन्यवाद
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र गाजामा सक्रिय अन्य सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरण तथा त्यसपछि गाजा पट्टीबाट इजरायली सेना फिर्ता हुने ऐतिहासिक सम्झौता भएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा सार्वजनिक गरेको सन्देशमा ट्रम्पले गाजामा स्थायी शान्ति र सुरक्षातर्फ यो महत्वपूर्ण कदम भएको उल्लेख गरेका छन्। उनका अनुसार सम्झौता चरणबद्ध रूपमा कार्यान्वयन हुनेछ र निःशस्त्रीकरण प्रक्रिया पूरा भएपछि इजरायली सेना गाजाबाट फिर्ता हुनेछ।
ट्रम्पले सम्झौता सम्भव बनाउन भूमिका खेलेको भन्दै कतार, इजिप्ट र टर्कीलगायत मध्यस्थकर्ताप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले वार्तालाई सफल बनाउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन्।
उनले उक्त सम्झौतालाई गाजा युद्ध अन्त्य गर्ने आफ्नो २० बुँदे योजनाको महत्वपूर्ण उपलब्धिका रूपमा वर्णन गर्दै निःशस्त्रीकरणपछि अन्तर्राष्ट्रिय शान्ति बलले नयाँ प्यालेस्टिनी प्रहरी बलसँग सहकार्य गर्दै गाजाको सुरक्षा व्यवस्थापनमा भूमिका खेल्ने बताएका छन्।