राहदानी खरिद भ्रष्टाचार मुद्दामा सिद्धार्थ थापा साधारण तारेखमा रिहा
राहदानी ठेक्का प्रकरणमा मुछिएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो । अदालतमा उपस्थित हुने निवेदन दिएर थापा आजै विशेष अदालतमा हाजिर भएका थिए ।
राहदानी खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले २०८३ असार ३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । करिब साढे १८ करोड रुपैयाँ भुक्तानी भएकोमा विशेष अदालतले राहदानी ठेक्कामा बोलकबालेल भएको अङ्क अर्थात् १० अर्ब १३ करोड रुपैयाँ बिगो मागदावी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
राहदानी विभागले राहदानी छपाइको जिम्मेवारी पाएको जर्मन कम्पनी भेरिडोसलाई १८ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको थियो भने उपकरणहरू आपूर्ति गर्ने जिम्मेवारी पाएको मुलवर कम्पनीलाई एक रुपैयाँ पनि भुक्तानी भएको छैन ।