एआई चिपको मागले सामसुङको ऐतिहासिक आम्दानी, तर बजारमा देखियो गिरावट
सियोल — कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित डाटा सेन्टरका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको माग तीव्र भएपछि दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले सन् २०२६ को दोस्रो त्रैमासिकमा ऐतिहासिक वित्तीय उपलब्धि हासिल गरेको छ।
कम्पनीको परिचालन मुनाफा गत वर्षको सोही अवधिको तुलनामा झन्डै १९ गुणाले बढ्दै ८९५ खर्ब वोन पुगेको छ। यो करिब १ हजार ८०० प्रतिशतको वार्षिक वृद्धि हो।
सामसुङले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अप्रिलदेखि जुनसम्मको अवधिमा कम्पनीको राजस्व १ हजार ७१५ खर्ब वोन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३० प्रतिशत बढी हो। सोही अवधिमा शुद्ध नाफा पनि करिब १ हजार ३०० प्रतिशतले बढेर ७१६ खर्ब वोन पुगेको छ।
कम्पनीले एआई डाटा सेन्टरका लागि प्रयोग हुने उच्च–ब्यान्डविड्थ मेमोरी (एचबीएम) चिपको मागले मेमोरी व्यवसायलाई बलियो बनाएको जनाएको छ। एचबीएम चिपहरू एआई प्रोसेसरमा च्याटबोट सञ्चालन, जटिल गणना तथा यथार्थपरक तस्बिर निर्माणजस्ता कामका लागि आवश्यक मानिन्छन्।
तर बलियो वित्तीय नतिजाका बाबजुद एआई क्षेत्रमा भइरहेको तीव्र लगानी दीर्घकालसम्म टिकाउ हुने वा नहुने चिन्ताका कारण दक्षिण कोरियाली सेयर बजारमा दबाब देखिएको छ। सामसुङको सेयर १२ प्रतिशतभन्दा बढी घट्दा प्रतिस्पर्धी कम्पनी एसके हाइनिक्सको सेयर पनि करिब २० प्रतिशतले ओरालो लागेको छ।
एसके हाइनिक्सले पनि दोस्रो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा राम्रो आम्दानी गरे पनि बजार विश्लेषकहरूको अपेक्षा पूरा गर्न नसकेको बताइएको छ। सामसुङ, एसके हाइनिक्स र अमेरिकी कम्पनी माइक्रोन विश्वका प्रमुख एचबीएम चिप उत्पादक हुन्।
सामसुङले आगामी महिनाहरूमा पनि सर्भरसम्बन्धी उत्पादनको माग बलियो रहने अपेक्षा गरेको छ। कम्पनीका अनुसार पूर्वाधार विस्तार, एआईमा बढ्दो लगानी तथा ‘एजेन्ट एआई’ प्रविधिको विकासले मेमोरी चिप बजारलाई थप विस्तार गर्नेछ।
कम्पनीका प्रमुख वित्तीय अधिकारी पार्क सून–चोलले विश्वव्यापी मेमोरी चिप अभाव सन् २०२७ मा अझ गहिरिन सक्ने र यसको प्रभाव सन् २०२८ सम्म रहन सक्ने अनुमान गरेका छन्।
सामसुङले अमेरिकाको टेक्सास राज्यस्थित टेलरमा निर्माणाधीन आफ्नो पहिलो चिप उत्पादन केन्द्र यसै वर्ष सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ। दोस्रो उत्पादन केन्द्रको निर्माण पनि अघि बढाइने र सन् २०३० सम्म पूर्ण व्यावसायिक उत्पादनमा लैजाने लक्ष्य राखिएको छ।
विश्लेषकहरूका अनुसार एआईको तीव्र विस्तारले एचबीएम मात्र नभई परम्परागत न्यान्ड र ड्राम मेमोरी चिपको मूल्य तथा मागसमेत बढाएको छ। काउन्टरपोइन्टका विश्लेषक एमएस ह्वाङका अनुसार सामसुङले मेमोरी क्षेत्रमा आफ्नो बलियो आधार प्रयोग गर्दै बजार विस्तार गरिरहेको छ।
यसैबीच, सामसुङले अमेरिकी चिप निर्माता ब्रोडकमसँग रणनीतिक सहकार्य गरी उन्नत मेमोरी समाधान उपलब्ध गराउने घोषणा गरेको छ। उक्त सहकार्यको कुल मूल्य सन् २०३० सम्म दुई खर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
दक्षिण कोरियाली सरकारले पनि सेमिकन्डक्टर उद्योगलाई रणनीतिक क्षेत्रका रूपमा अघि बढाइरहेको छ। राष्ट्रपति ली जे म्युङले बढ्दो चिप उद्योगलाई नयाँ लगानीका लागि ‘सुनौलो अवसर’ बताएका छन्।
सरकारले सामसुङ र एसके हाइनिक्सले ग्वाङ्जु क्षेत्रमा चारवटा अत्याधुनिक चिप उत्पादन केन्द्र स्थापना गर्न संयुक्त रूपमा आठ हजार खर्ब वोन लगानी गर्ने योजना अघि बढाएको जनाएको छ।
तर विश्लेषकहरूले एआई नेतृत्वको सेमिकन्डक्टर वृद्धिको गति अपेक्षाभन्दा चाँडै सुस्त हुन सक्ने जोखिम औँल्याएका छन्। उनीहरूका अनुसार दीर्घकालीन लगानी र बजार स्थायित्व नै अबको मुख्य चुनौती हुनेछ।