धनुषाका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, प्रशासनद्वारा कडा सुरक्षा व्यवस्था
जनकपुरधाम — जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकको निर्णयका आधारमा साउन १४ गते दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यु लगाइएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जारी आदेशअनुसार तोकिएका क्षेत्रमा कसैले आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा तथा धर्ना गर्न नपाउने व्यवस्था गरिएको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।
प्रशासनले कर्फ्यु लागू गरिएको क्षेत्र चारकिल्ला तोकेर निर्धारण गरेको छ। उत्तरतर्फ लक्ष्मीनियाँ हाटबजार चोकदेखि सिउरजोडा चोक हुँदै लक्ष्मीपुर नोव्वासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमयु स्टिलबाट ५०० मिटर पूर्व पेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिउरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन–जनकपुर–ढल्केबर पुल–बेला–कादरी मस्जिदसम्मको क्षेत्र कर्फ्यु आदेशभित्र समेटिएको छ।
जिल्ला प्रशासन कार्यालयले संवेदनशील सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। प्रशासनका अनुसार जिल्लाको शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा सार्वजनिक व्यवस्था कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको हो।