कांग्रेसद्वारा सरकारको १०० दिनको कार्यसम्पादन समीक्षा आज
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको १०० दिने कार्यसम्पादनबारे आज समीक्षा गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बिहान साढे ११ बजे बस्ने बैठकमा सरकारका कामकारबाही र १०० बुँदे कार्ययोजनाको कार्यान्वयन अवस्थाबारे विस्तृत छलफल हुने जनाइएको छ।
उक्त समीक्षा कार्यक्रम उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतका समितिहरूको समन्वयमा आयोजना गरिएको हो। अर्थ तथा योजना उपसमितिका संयोजक गोविन्दराज पोखरेलका अनुसार सरकारका पछिल्ला १०० दिनका उपलब्धि र कमजोरी दुवै पक्षमा मूल्यांकन गरिनेछ।
बैठकमा पार्टी सभापति, पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदहरूको सहभागिता रहनेछ। छलफलपछि सरकारको कामकारबाहीबारे पार्टीको औपचारिक धारणा सार्वजनिक हुन सक्ने बताइएको छ।
कांग्रेसभित्र यो समीक्षा कार्यक्रमलाई सरकारको कार्यसम्पादन मूल्यांकन गर्ने महत्वपूर्ण राजनीतिक अभ्यासका रूपमा हेरिएको छ।