वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य, राष्ट्र बैंकद्वारा नयाँ व्यवस्था लागू
काठमाडौं — नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (वालेट) संस्थाका लागि राष्ट्रिय परिचयपत्रसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ को १५औँ संशोधनमार्फत वालेट खोल्ने र प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य बनाइएको हो।
संशोधित व्यवस्थाअनुसार अब नेपाली नागरिकको वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गर्नुपर्नेछ। साथै, राष्ट्रिय परिचयपत्र प्राप्त गरेका प्रयोगकर्ताले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ।
राष्ट्र बैंकले वालेट सेवा प्रदायकलाई सोही अवधिभित्र प्रयोगकर्ताबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी स्वघोषणा लिन तथा परिचयपत्र नलिएका प्रयोगकर्तालाई विवरण अद्यावधिक गर्न नियमित जानकारी गराउने व्यवस्था गर्न निर्देशन दिएको छ।
विदेशमा रहेका नेपालीले भने अनलाइनमार्फत वालेट खोल्न सक्ने व्यवस्था यथावत रहनेछ। उनीहरूले नेपाल फर्किएको छ महिनाभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ। अशक्त तथा असहाय नागरिकका हकमा भने अन्य आवश्यक कागजातका आधारमा पनि वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।