बालेन्द्र शाह नेतृत्वको मन्त्रिमण्डल पुनर्गठनको तयारी, केही मन्त्री हेरफेर हुने संकेत
काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिमण्डल पुनर्गठनको प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ। पछिल्लो समय सरकारप्रति जनअसन्तुष्टि बढेको भन्दै प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेसँग केही मन्त्री परिवर्तन गर्ने विषयमा छलफल अघि बढाएको स्रोतको भनाइ छ।
स्रोतका अनुसार आगामी एक साताभित्रै मन्त्रिमण्डल हेरफेर हुने सम्भावना रहेको छ। फेरिने मन्त्री र मन्त्रालयबारे प्रारम्भिक छलफल भइसके पनि अन्तिम निर्णय भने सार्वजनिक नभएको बताइएको छ।
केही मन्त्रालयमा कार्यालय समय सुरु भएसँगै सम्भावित मन्त्री परिवर्तनबारे सचिव, सहसचिवदेखि मन्त्रीका निजी सचिवालयसम्म चर्चा हुन थालेको जनाइएको छ।
यसअघि प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही मन्त्री र सांसदका विषयमा पार्टी सभापति रवि लामिछानेसँग बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता गरेका थिए। उक्त भेटमा लामिछानेले प्रधानमन्त्रीको सचिवालयको कामप्रति असन्तुष्टि जनाएको चर्चा समेत भएको छ।
विशेषगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री कार्यालयमा हुने केही उच्चस्तरीय भेटघाटमा विभागीय मन्त्रीको उपस्थिति आवश्यक हुँदाहुँदै सहभागी नगराइएको विषयले राजनीतिक वृत्तमा विभिन्न टिप्पणी भइरहेको छ।
यसैबीच, गत शनिबार साँझदेखि आइतबार मध्यान्हसम्म सभापति लामिछाने र अर्थमन्त्री तथा उपसभापति वाग्लेबीच धुलिखेलस्थित दुसित थानी हिमालय रिसोर्टमा भएको आवासीय छलफललाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।
सरकारको विरोधमा केही सांसदहरू उत्रिएपछि संसद बैठकसमेत १५ दिनका लागि स्थगित गरिएको अवस्थामा मन्त्रिमण्डल पुनर्गठनको तयारीलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।