प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकमाथि छलफल, इन्टरनेट सेवा अवरुद्ध
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा अहिले विशेष समय सञ्चालन भइरहेको छ भने सदस्यहरूको बोल्ने क्रम जारी छ।
संसद् सचिवालयको इन्टरनेट सेवा प्राविधिक कारणले प्रभावित हुँदा बैठकको प्रत्यक्ष प्रसारण हाल अवरुद्ध भएको छ। सचिवालयका सहसचिव दशरथ धमलाले मर्मत कार्य भइरहेको र चाँडै सेवा पुनः सञ्चालन हुने जानकारी दिएका छन्।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले “सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३” माथि दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सो विधेयकका प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनुका साथै अन्ततः पारित गर्ने प्रस्तावसमेत पेश गरिनेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३” माथि दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन्। उक्त विधेयकका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनुका साथै पारित गर्ने प्रस्ताव पनि अघि सारिनेछ।
यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले “सहकारी (पहिलो संशोधन) विधेयक, २०८३” माथि दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सो विधेयकका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनुका साथै पारित गर्ने प्रस्तावसमेत रहेको छ।
त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले “स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३” माथि दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्। सो विधेयकका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनुका साथै पारित गर्ने कार्यसूची रहेको छ।
बैठकमा समसामयिक राजनीतिक तथा विधायिकी विषयमा महत्वपूर्ण छलफल भइरहेको छ।