नयाँ प्रणालीमार्फत राहदानी वितरण सुरु, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण
काठमाडौं — सरकारले नयाँ राहदानी प्रणालीमार्फत राहदानी वितरण सेवा औपचारिक रूपमा सुरु गरेको छ। सोमबार राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीबाट राहदानी वितरण कार्यको शुभारम्भ गरेका हुन्।
राहदानी विभागका अनुसार नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी सेवा सञ्चालनमा ल्याइएको हो। नयाँ प्रणालीमा करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा स्थानान्तरण गरिएको परराष्ट्रमन्त्री खनालले जानकारी दिए।
नयाँ प्रणाली कार्यान्वयनको तयारीस्वरूप दुई–तीन दिनअघि राहदानी विभाग तथा विदेशस्थित नेपाली नियोगहरूमा राहदानी वितरण सेवा अस्थायी रूपमा बन्द गरिएको थियो। आवश्यक प्राविधिक तयारी पूरा भएपछि नयाँ प्रणालीमार्फत सेवा सफलतापूर्वक सञ्चालनमा आएको मन्त्री खनालले बताए।
उनका अनुसार प्रारम्भिक परीक्षणका क्रममा प्रणाली प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। यद्यपि प्रक्रियागत रूपमा सामान्य प्राविधिक समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै राहदानी विभाग र परराष्ट्र मन्त्रालयका प्राविधिक टोलीहरू ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको छ।
सरकारले नयाँ प्रणालीले राहदानी सेवा थप सुरक्षित, व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।