सुदूरपश्चिम प्रदेशसभाको बैठक आज, बजेटसम्बन्धी प्रस्ताव अघि बढाइने
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायत प्रस्ताव टेबल गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा महालेखापरीक्षक कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगका वार्षिक प्रतिवेदन पनि प्रदेशसभामा पेस गरिनेछ।
प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि आज पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको हो। बजेट प्रस्तुत भएपछि सत्तारूढ गठबन्धनभित्रै केही विषयमा मतभेद देखिएकाले बजेटमाथिको छलफल र त्यससँग सम्बन्धित संसदीय प्रक्रिया अघि बढ्न सकेको थिएन।
आजको बैठकले बजेटसम्बन्धी प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ। साथै, विनियोजन विधेयक र अन्य प्रस्तावमाथि छलफलको प्रक्रिया अघि बढ्ने सम्भावना रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।