बागमतीका पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने
काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा भएको छलफलपछि सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुराँस बचत तथा ऋण सहकारी र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय भएको हो।
समिति सदस्य रामेश्वर ढकालका अनुसार असार २७ गतेदेखि मसान्तसम्म रकम फिर्ता गर्ने तयारी भइरहेको छ। अहिले बचतकर्ताको विवरण प्रमाणीकरण गर्ने काम भइरहेको उनले जानकारी दिए।
रकम फिर्ताका लागि करिब ९ करोड रुपैयाँ जम्मा भइसकेको समितिले जनाएको छ। सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्तालाई अधिकतम एक लाख रुपैयाँसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई १० हजार रुपैयाँसम्म फिर्ता गर्ने योजना रहेको छ।
समितिका अनुसार पाँच सहकारीका करिब तीन हजार साना बचतकर्ताले रकम फिर्ता पाउनेछन्। यसअघि समितिले समस्याग्रस्त ठहर गरिएका सहकारीका ११४ जना ठूला ऋणीको नाम सार्वजनिक गर्दै ऋण चुक्ता गर्न आग्रह गरेको थियो।