संघीय संसदका चार समितिको बैठक आज, विधेयकदेखि आरोग्य वर्षको तयारीसम्म छलफल हुने
काठमाडौं । संघीय संसदअन्तर्गत रहेका विभिन्न चारवटा संसदीय समितिको बैठक आज बस्दैछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, संसदीय सुनुवाइ समिति तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले आ–आफ्ना कार्यसूचीअनुसार छलफल गर्ने भएका हुन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ। छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री, मन्त्रालयका सचिव, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानून सचिव तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई आमन्त्रण गरिएको छ।
यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ९:३० बजे बस्नेछ। उक्त बैठकमा समितिको आन्तरिक कार्यविधि तथा कार्य सञ्चालनसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।
संसदीय सुनुवाइ समितिको बैठक पनि बिहान ९:३० बजे नै सिंहदरबारमा बस्नेछ। बैठकमा आगामी संसदीय सुनुवाइ प्रक्रियासम्बन्धी आन्तरिक तयारी तथा आवश्यक कार्ययोजनामाथि छलफल गरिने कार्यसूची रहेको छ।
यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्ष का रूपमा मनाउने तयारीबारे समीक्षा तथा छलफल हुनेछ। साथै, नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई यसअघि दिइएका निर्देशनको कार्यान्वयन अवस्था तथा त्यसबाट प्राप्त उपलब्धिबारे पनि समितिले समीक्षा गर्ने तयारी गरेको छ।
आजका समितिका बैठकमा विधेयक, संसदीय कार्यप्रणाली, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयनसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णय र छलफल हुने अपेक्षा गरिएको छ।