विश्वविद्यालयमा सरकारी हस्तक्षेप भएको नेविसंघको आरोप
काठमाडौं, २२ असार — नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाएको छ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेविसंघले सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै विश्वविद्यालयसम्बन्धी ऐनमार्फत शक्ति पृथकीकरणको सिद्धान्त उल्लङ्घन भएको दाबी गरेको हो।
नेविसंघकी अध्यक्ष करुणा कटुवालले सरकारले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बढाएको आरोप लगाउँदै सरकारको सय दिन ‘अवसर गुमेको १०० दिन’ बनेको टिप्पणी गरिन्। उनले त्रिभुवन विश्वविद्यालयका ३९८ प्राध्यापकबाट राज्यको रकम फिर्ता गराउने कार्यको भने प्रशंसा गरिन्।
नेविसंघले विद्यार्थीको मौलिक हक, शिक्षा शुल्क र परीक्षा नतिजाको गुणस्तर सुधारमा सरकारले अपेक्षित काम गर्न नसकेको पनि जनाएको छ।