वनकर्मीमाथि आक्रमणका दोषीलाई कारबाही गर्न कांग्रेसलाई ज्ञापनपत्र
चुरे तथा वन्यजन्तु संरक्षण अभियानले महोत्तरीमा वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र बुझाएको छ।
अभियानका केन्द्रीय अध्यक्ष सुनिल यादवको नेतृत्वमा पुगेको टोलीले कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण दुलाललाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन, दोषीलाई कानुनी दायरामा ल्याउन र वनकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेको हो।
अध्यक्ष यादवले मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहे पनि घटनामा अपेक्षित रूपमा प्रभावकारी कदम नचालिएको भन्दै ध्यानाकर्षण गराएका छन्।
अभियानले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न सरकारसँग पनि आग्रह गरेको छ।