भेरी–बबई आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। आयोजनाबाट उत्पादन हुने करिब ४६.८ मेगावाट विद्युत् कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ।
प्रसारण लाइनका लागि १.७ किलोमिटर दूरीमा नौवटा टावर निर्माण गरिनेछ। यसमध्ये केही टावर बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य तथा मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको छ।
भेरी–बबई आयोजनाको भौतिक प्रगति हालसम्म ७० प्रतिशत पुगेको छ। आयोजनामार्फत भेरी नदीको पानी १२ किलोमिटर सुरुङमार्फत बबईमा खसालेर बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ।