साउन ७ देखि कांग्रेसको ‘नागरिक केन्द्रित’ नयाँ अभियान
काठमाडौं, असार ३२ — नेपाली कांग्रेसले साउन ७ गतेदेखि पार्टीलाई नागरिक केन्द्रित बनाउने उद्देश्यसहित नयाँ अभियान सुरु गर्ने भएको छ।
पार्टी सभापति गगन थापाले संशोधित विधानको मर्मअनुसार अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएका छन्। उनका अनुसार प्रत्येक समितिका सदस्यले ५० प्रतिशत समय संगठनात्मक काम र ५० प्रतिशत सामाजिक काममा केन्द्रित हुने व्यवस्था कार्यान्वयन गर्दै कांग्रेसलाई ‘इलेक्सन सेन्ट्रिक’ बाट ‘सिभिक सेन्ट्रिक’ अर्थात् नागरिक केन्द्रित पार्टीमा रूपान्तरण गर्ने लक्ष्य लिइएको छ।
महामन्त्री प्रदीप पौडेलले ‘जरा अभियान’ सम्पन्न भएपछि नयाँ अभियान सुरु गर्न लागिएको बताए। उनले अभियानको अवधि र कार्यविधिबारे आन्तरिक छलफल भइरहेको जानकारी दिँदै यसको मुख्य उद्देश्य पार्टीलाई नागरिकका मुद्दासँग थप जोड्नु रहेको उल्लेख गरे।
कांग्रेसले नयाँ अभियानमार्फत संगठनलाई जनस्तरसँग थप नजिक बनाउने र नागरिकका सरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ।