कांग्रेस आधिकारिकता विवादमा असन्तुष्ट पक्षको पुनरावलोकन निवेदन
नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आधिकारिकता विवादसम्बन्धी दोस्रो पुनरावलोकन निवेदन सर्वोच्च अदालतमा दर्ता गराएको छ।
सर्वोच्च अदालतले गत वैशाख ४ गते कांग्रेसको आधिकारिकता सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त फैसलाको पुनरावलोकन माग गर्दै निवेदन दर्ता गराएका हुन्। यसअघि पूर्वसभापति शेरबहादुर देउवाको तर्फबाट पनि पुनरावलोकन निवेदन दर्ता भएको थियो।
सर्वोच्च अदालतका अनुसार निवेदन अब तीन न्यायाधीशको इजलासमा पेस हुनेछ। इजलासले पुनरावलोकनका लागि निस्सा दिएमा मुद्दा अघि बढ्नेछ भने नदिएमा त्यहीँ टुंगिनेछ।