बेलौरी नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई आधुनिक कृषि उपकरण वितरण
कञ्चनपुरको बेलौरी नगरपालिकाले कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण वितरण गरेको छ। नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत कृषक, कृषक समूह तथा कृषि फार्मलाई १८२ थान कृषि यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो।
उपकरण वितरण कार्यक्रममा नगरपालिका र लाभग्राही किसानले समान ४२ लाख रुपैयाँ लगानी गरेका छन्। वितरण गरिएका सामग्रीमा सिँचाइका विद्युतीय मोटर, पम्पसेट, मिनी टिलर, रोटाभेटर, कल्टिभेटर, पावर टिलर, रिपर, कम्बाइन मिल, लेजर ल्यान्ड लेभलर, पावर स्प्रेयरलगायतका उपकरण रहेका छन्।
नगर प्रमुख पोतिलाल चौधरीले कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउन नगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताए। आधुनिक उपकरणको प्रयोगले श्रम अभाव घटाउने, उत्पादन लागत कम गर्ने र किसानको आम्दानी वृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ छ।
नगर उपप्रमुख जोगराम चौधरीले बेलौरीको आर्थिक समृद्धिको मुख्य आधार कृषि भएकाले प्रविधिमा आधारित खेती प्रणाली विस्तार आवश्यक रहेको बताए। कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले यान्त्रिकीकरणले खेतीपाती समयमै सम्पन्न गर्न, उत्पादकत्व बढाउन र किसानको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।