सार्क पुनः सक्रिय बनाउन माल्दिभ्सको आह्वान
माले — माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनः सक्रिय बनाउन सदस्य राष्ट्रहरूलाई संवादमार्फत मतभेद अन्त्य गरी सहकार्यको नयाँ चरण सुरु गर्न आह्वान गरेका छन्।
माल्दिभ्सको ६१औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुइजुले क्षेत्रीय शान्ति, स्थायित्व र सहकार्यका लागि वार्ता नै प्रभावकारी माध्यम भएको बताए। उनले आवश्यक परे माल्दिभ्सले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको पनि उल्लेख गरे।
उनले सदस्य राष्ट्रहरूलाई क्षेत्रीय हितलाई प्राथमिकतामा राख्दै पुनः वार्ताको टेबलमा फर्किन आग्रह गरेका छन्।
यसअघि बङ्गलादेशले पनि सार्कलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याउँदै संगठनको कार्यान्वयन क्षमता, वित्तीय स्रोत र अनुगमन प्रणाली सुदृढ गर्नुपर्ने बताएको थियो।
अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य रहेको सार्क पछिल्ला वर्षहरूमा भारत–पाकिस्तान तनावका कारण निष्क्रियजस्तै बनेको छ।