देउवाको हात भाँचिएको खबर सचिवालयद्वारा खण्डन, समाचारलाई भनियो भ्रामक
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा फैलिएको समाचारलाई उनको सचिवालयले खण्डन गरेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले ‘पूर्वप्रधानमन्त्री लडेर हात भाँचिएको’ भन्ने समाचार पूर्णतः निराधार, असत्य र भ्रामक भएको जनाएको हो।
‘सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ,’ सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि आधिकारिक पुष्टि बिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो।’
सचिवालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई कुनै पनि सूचना वा समाचार सार्वजनिक गर्नुअघि आधिकारिक स्रोतबाट सत्यता पुष्टि गर्न आग्रह गरेको छ।
यसअघि देउवाको स्वास्थ्य अवस्थाबारे विभिन्न किसिमका सूचना सामाजिक सञ्जालमा फैलिएका थिए। सचिवालयले त्यस्ता सूचनाप्रति सचेत रहन आग्रह गरेको हो।