यूएनएफपिएका नवनियुक्त प्रतिनिधि हरिदासद्वारा ओहोदाको प्रमाणपत्र पेस, परराष्ट्रमन्त्री खनालसँग भेट
काठमाडौं — नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए)का नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले सोमबार परराष्ट्र मन्त्रालयमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
ओहोदाको प्रमाणपत्र पेस गरेपछि प्रतिनिधि हरिदासले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटका क्रममा नेपाल र यूएनएफपिएबीच लामो समयदेखि रहँदै आएको साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भेटमा नेपालको जनसंख्याको अवस्था, जनसांख्यिकीय लाभ, युवा तथा ज्येष्ठ नागरिकका सवाल, सहकार्यका प्राथमिक क्षेत्र तथा आगामी सहयोगका विषयमा पनि विचारविमर्श भएको थियो।
परराष्ट्रमन्त्री खनालले नेपाललाई यूएनएफपिएले निरन्तर प्रदान गर्दै आएको सहयोगको प्रशंसा गर्दै प्रतिनिधि हरिदासलाई नेपालमा सफल कार्यकालको शुभकामना दिएका छन्।