अब लाइसेन्सको राजस्व पनि अनलाइनबाटै तिर्न सकिने
काठमाडौं, असार ३२ — सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइन प्रणालीमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन्।
यातायात व्यवस्था विभागले शुक्रबारदेखि लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीमा राजस्व भुक्तानीको सुविधा थप गरेको हो। यसअघि सेवाग्राहीले अनलाइनबाट आवेदन फाराम मात्र भर्न सक्ने व्यवस्था थियो।
विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले नयाँ सेवाग्राही तथा लाइसेन्स नवीकरण गर्ने दुवै सेवाग्राहीले अब अनलाइन प्रणालीबाटै राजस्व तिर्न सक्ने जानकारी दिए।
उनका अनुसार नयाँ व्यवस्थाले राजस्व बुझाउन बैंकमा पुगेर लाइन बस्नुपर्ने बाध्यता हट्नेछ। यसबाट सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै यातायात सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।