एमाले–नेकपा सत्ता सहकार्यपछि तीन प्रदेशका मुख्यमन्त्री फेरबदलको तयारी
काठमाडौं — नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमतिपछि एमालेको भागमा परेका तीन प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्ने तयारी अघि बढेको छ।
एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ। कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विकल्पमा तिलकुमार मेन्याङ्बोको नाम चर्चामा छ भने बागमतीमा जगन्नाथ थपलिया, किरण थापा मगर र केशवप्रसाद पोखरेल दाबेदार देखिएका छन्।
बागमतीमा यसअघि भएको सहमतिअनुसार आफू मुख्यमन्त्री बन्ने दाबी थपलियाको छ। तर नेतृत्वले अन्य विकल्पबारे पनि छलफल गरिरहेको बताइएको छ।
लुम्बिनीमा वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यको स्थानमा पूर्वमुख्यमन्त्री लीला गिरी र पूर्वमन्त्री भूमिश्वर ढकालको नाम चर्चामा छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले भने मुख्यमन्त्री चयनबारे अन्तिम निर्णय नभएको जनाएको छ। सचिवालय सदस्य निरु पालले प्रदेश नेतृत्वबारे छलफल जारी रहेको बताएकी छन्।
यता नेपाल कम्युनिष्ट पार्टीले आफ्नो भागमा परेको कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्रीको टुंगो लगाउने तयारी गरेको छ। कर्णालीमा मङ्गलबहादुर शाही र सुदूरपश्चिममा खगराज भट्टलाई अघि सार्ने तयारी रहेको बताइएको छ।
मधेस र गण्डकी प्रदेशको नेतृत्वबारे भने अन्य दलसँग छलफल गरेर टुंगो लगाउने तयारी रहेको छ।