कुमारी बैंकद्वारा नेपालको पहिलो ईआरपी–एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक
काठमाडौं । कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो ईआरपी–एकीकृत रियल–टाइम डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ।
नयाँ प्रणालीमार्फत ईआरपी सफ्टवेयर प्रयोग गर्ने व्यवसायहरूले लामो कागजी प्रक्रिया र शाखा धाउनुपर्ने झन्झटबिनै बिनाधितो कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार व्यवसायको बिक्री, कारोबार र मौज्दातलगायतका वास्तविक समयका तथ्यांकका आधारमा कर्जा योग्यता मूल्याङ्कन गरिनेछ। यसले छिटो र सटीक निर्णय लिन सहयोग पुर्याउँदै परम्परागत धितोबिनै वित्तीय पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।
यस प्ल्याटफर्ममार्फत योग्य व्यवसायहरूले ५ लाख रुपैयाँसम्म चालु पुँजी कर्जा लिन सक्नेछन्। उक्त कर्जा १२ महिनासम्म समान मासिक किस्ता (ईएमआई) मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
कुमारी बैंकले ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमलाई लक्षित गर्दै ल्याइएको यो पहलले वित्तीय समावेशीकरणलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।