दलित मुद्दामा नितेश पौडेलको खगेन्द्र सुनारलाई प्रश्न: ‘समस्या समाधान कि राजनीतिक ब्रान्डिङ?’
काठमाडौं । युवा नेता नितेश पौडेलले रास्वपा साम्सद खगेन्द्र सुनार लाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्। उनले दलित समुदायमाथि भइरहेको विभेद र अपमानजनक व्यवहारका विषयमा केवल राजनीतिक अभिव्यक्ति दिनेभन्दा ठोस परिणाममुखी पहल आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको आफ्नो धारणा मार्फत पौडेलले संविधानले दलित अधिकारलाई मौलिक हकको रूपमा सुनिश्चित गरे पनि व्यवहारमा अझै विभेद कायम रहेको उल्लेख गरेका छन्। उनले विशेषगरी काठमाडौंका केही क्षेत्रमा दलित समुदायले भोग्नुपरेको अपमानजनक अवस्थाप्रति राज्यका निकाय र जनप्रतिनिधिहरू गम्भीर हुनुपर्ने बताएका छन्।
पौडेलले सांसद सुनारलाई प्रश्न गर्दै, “तपाईं समस्या समाधान गर्न थाल्नुहुन्छ कि समस्यालाई ब्रान्ड बनाएर आफ्नो राजनीतिक रोटी सेक्ने काम गर्नुहुन्छ ?” भनेर सोधेका छन्। उनले राज्यका कानुन कार्यान्वयन नभएको अवस्थामा त्यसको अनुगमन र दबाब सिर्जना गर्नु जनप्रतिनिधिको जिम्मेवारी भएको समेत उल्लेख गरेका छन्।
उनले दलित मुक्तिको सवालमा भाषणभन्दा कार्यान्वयन र नतिजा आवश्यक रहेको जिकिर गर्दै, “जनताले अब भाषण होइन, दलित मुक्तिको ठोस नतिजा चाहेका छन्,” भनेका छन्। साथै, आफूहरूले बनाएका कानुन प्रभावकारी रूपमा कार्यान्वयन गराउन सांसदहरू सक्षम छन् कि छैनन् भन्ने प्रश्न पनि उठाएका छन्।
पौडेलको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। दलित अधिकार, कानुन कार्यान्वयन र जनप्रतिनिधिको भूमिकाबारे बहस भइरहेका बेला उनको टिप्पणीलाई राजनीतिक तथा सामाजिक वृत्तमा चासोका साथ हेरिएको छ।