एनएमसीद्वारा ‘हेलो एनएमसी’ डिजिटल गुनासो पोर्टल सञ्चालन
काठमाडौं, असार ११ — नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सेवा प्रवाहलाई थप पारदर्शी, छरितो र प्रविधिमैत्री बनाउन ‘हेलो एनएमसी’ डिजिटल जिज्ञासा, गुनासो, उजुरी तथा सुझाव पोर्टल सञ्चालनमा ल्याएको छ।
काउन्सिलले बुधबार सार्वजनिक सूचना जारी गर्दै अब नागरिक तथा दर्तावाला चिकित्सकले काउन्सिल कार्यालयमा भौतिक रूपमा उपस्थित नभई अनलाइनमार्फत आफ्ना जिज्ञासा, गुनासो, उजुरी तथा सुझाव दर्ता गर्न सक्ने जनाएको हो।
काउन्सिलका अनुसार चिकित्सा क्षेत्र, प्रशासनिक सेवा तथा काउन्सिलका कामकारबाहीसँग सम्बन्धित कुनै पनि विषयमा डिजिटल माध्यमबाट गुनासो वा सुझाव पेश गर्न सकिने व्यवस्था गरिएको छ। दर्तावाला चिकित्सकहरूले आफ्नो व्यक्तिगत खातामा लगइन गरी उजुरी दर्ता गर्न सक्नेछन् भने सर्वसाधारणले काउन्सिलको वेबसाइटमार्फत पोर्टल प्रयोग गर्न सक्नेछन्।
त्यसैगरी, क्यूआर कोड स्क्यान गरेर वा आधिकारिक इमेलमार्फत पनि उजुरी तथा सुझाव पठाउन सकिने व्यवस्था गरिएको छ।
नयाँ प्रणालीको विशेषता उजुरीकर्ताको गोपनीयता र उजुरीको अवस्थाबारे निरन्तर जानकारी प्राप्त गर्ने सुविधा रहेको काउन्सिलले जनाएको छ। उजुरीकर्ताले आफ्नो नाम खुलाएर वा गोप्य राखेर उजुरी दर्ता गर्न सक्नेछन्। नाम खुलाइएका उजुरीको गोपनीयता समेत सुरक्षित रहने व्यवस्था गरिएको छ।
उजुरी दर्ता भएपछि प्रणालीले स्वतः ‘युनिक ट्र्याकिङ नम्बर’ प्रदान गर्नेछ, जसका आधारमा उजुरीको प्रगति एसएमएस तथा इमेलमार्फत जानकारी लिन सकिनेछ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले प्राप्त उजुरी, गुनासो तथा सुझावलाई प्रभावकारी रूपमा सम्बोधन गर्दै सेवा प्रणालीलाई अझ जवाफदेही र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।