रास्वपाको प्रथम महाधिवेशनः चितवनका तीन सांसद पदाधिकारीमा निर्वाचित
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्य पार्टीको पदाधिकारीमा निर्वाचित भएका छन्।
चितवन–२ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। यस्तै चितवन–३ की सांसद सोविता गौतम उपसभापति तथा चितवन–१ का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलका अनुसार तनहुँबाट निर्वाचित उपसभापति डा. स्वर्णिम वाग्लेको स्थायी घर चितवनको रत्ननगर–१४, पिठुवामा रहेको छ। उनका बुबाआमा हाल त्यहीँ बसोबास गर्दै आएका छन्।
त्यस्तै समानुपातिक सांसद प्रभा ढकाल र समिना मिया केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। चितवनकै प्रकृति ढकाल, सविना विक र आकांक्षा पोखरेल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
पौडेलले रास्वपाको नयाँ केन्द्रीय समितिमा चितवनका नेताहरूको उल्लेखनीय प्रतिनिधित्व भएको बताउँदै तीनै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य पदाधिकारीमा निर्वाचित हुनु जिल्लाका लागि गौरवको विषय भएको बताए।