बीपी राजमार्ग पुनर्निर्माण तीव्र, केही दिनमै नयाँ ट्रयाकबाट यातायात सञ्चालन तयारी
बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलान्चोक–सिन्धुली खण्डको बीपी राजमार्ग पुनर्निर्माण तीव्र गतिमा अघि बढाइएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार केही दिनमै पुनर्निर्मित ट्रयाकबाट सवारी सञ्चालन गर्ने तयारी भइरहेको छ।
अस्थायी रूपमा रोशी खोलामा डाइभर्सन प्रयोग हुँदै आएकोमा अब ग्राभेल र माटो भरेर नयाँ ट्रयाक तयार पारिएको छ। असार १५ देखि नियमित रूपमा सोही मार्ग प्रयोगमा ल्याउने लक्ष्य राखिएको छ।
भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर क्षेत्रमा क्षति पुगेको राजमार्गलाई चरणबद्ध रूपमा दुई लेनको सडकका रूपमा पुनर्निर्माण गरिने योजना छ। हाल केही खण्डमा आरसीसी वाल निर्माण र ग्राभेलको काम भइरहेको छ।