काठमाडौँ उपत्यकाका सम्पदास्थलमा वार्म लाइट जडान गरिने
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका सम्पदास्थलहरूमा हाल जडान गरिएका एलइडी र सिएफएल बत्ती हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरूको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले वार्म लाइट जडान गर्न लागिएको हो।
मन्त्रालयले सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएअनुसार धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्वका स्थानहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने राष्ट्रिय नीतिअनुरूप पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरणको योजना अघि बढाइएको जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हाल प्रयोगमा रहेका सेतो उज्यालो दिने एलइडी र सिएफएल बत्तीले सम्पदास्थलहरूको मौलिक स्वरूप र सौन्दर्यलाई पर्याप्त रूपमा उजागर गर्न नसकेको बताए। उनले सम्पदाको ऐतिहासिक तथा सांस्कृतिक महत्वअनुसार पहेँलो र न्यानो उज्यालो दिने वार्म लाइट जडान गरिने जानकारी दिए।
मन्त्री श्रेष्ठका अनुसार विश्व सम्पदा सूचीमा परेका पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरणमा नेपाल विद्युत् प्राधिकरणले विशेष ध्यान दिनेछ। ‘पर्यटक आउने सम्पदास्थलहरूमा हाल सेतो उज्यालो दिने बत्ती प्रयोग भइरहेका छन्। अब त्यस्ता क्षेत्रमा सम्पदाको स्वरूप र वातावरणसँग मेल खाने वार्म लाइट जडान गरिनेछ,’ उनले बताए।
सरकारको यो कदमले सम्पदास्थलहरूको आकर्षण बढ्नुका साथै पर्यटकलाई थप सौन्दर्यपूर्ण अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।