कर्णाली प्रदेशसभा बैठक नेकपा अवरोधपछि १५ मिनेटका लागि स्थगित
सुर्खेत, असार ११ — कर्णाली प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ।
बैठक सुरु भएलगत्तै नेकपा कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमा उठेका प्रश्नहरूको सरकारले स्पष्ट जवाफ नदिएको आरोप लगाए। उनले बजेट उद्देश्यविहीन र त्रुटिपूर्ण रहेको भन्दै त्यसबारे जवाफ नआएसम्म प्रक्रिया अघि बढाउन नदिने चेतावनी दिए।
नेकपा सांसदहरूले बजेट सन्तुलित, समन्यायिक र सामाजिक न्यायमा आधारित नभएको भन्दै असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गरेपछि सभामुख नन्दा गुरुङले बैठक १५ मिनेटका लागि स्थगित गरेकी हुन्।