नेपाललाई जर्मनीको ३ करोड ७६ लाख युरो सहयोग
सङ्घीय गणतन्त्र जर्मनीले आगामी दुई वर्षका लागि नेपाललाई ३ करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्ने घोषणा गरेको छ। नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रलाई सहकार्यका प्रमुख प्राथमिकतामा राख्ने सहमति भएको हो।
उक्त सहयोग नवीकरणीय ऊर्जा, विद्युत् वितरण प्रणाली सुदृढीकरण, हरित कृषि, राजस्व सुधार, गुणस्तरीय पूर्वाधार, लैङ्गिक समानता तथा वित्तीय पहुँच विस्तारजस्ता क्षेत्रमा उपयोग गरिने जनाइएको छ।