मन्त्रिपरिषद् बैठक: तीन मन्त्री सहभागी, दुई निर्णय पारित
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा तीन जना मन्त्री मात्र सहभागी भएको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार दिउँसो २ बजे बोलाइएको बैठक १० मिनेट बसेर सकिएको थियो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी मात्र बैठकमा सहभागी भएका थिए ।
चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका कारण मन्त्रीहरू बैठकमा सहभागी हुन नपाएको बताइएको छ । महाधिवेशनमा नगएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसमेत मन्त्रिपरिषद्को बैठकमा गएनन् । मन्त्री पुन राष्ट्रियसभाको बैठकमा गएको कारण मन्त्रिपरिषद्को बैठकमा नगएका हुन् ।
उक्त बैठकबाट अवकाशमा जान लागेकी विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिला देवी बज्राचार्य, निर्वाचन आयोगका सचिव मधुसुधन बुर्लाकोटी र अवकाश भएका नेपाल ट्रष्टका सचिव चिरञ्जिवी चटौतलाई निजामती सेवामा पुर्याएको योगदानको लागि धन्यवाद दिने र सडक परियोजनाको लागि विघुत्तका पोल हटाउन दिने गरी दुईवटा निर्णयहरू भएको प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ ।