शनिबार काठमाडौं–ललितपुरका ९८ क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने
काठमाडौं, २२ जेठ — काठमाडौं र ललितपुरका झण्डै ९८ स्थानमा शनिबार चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन चालक तार स्तरोन्नति आयोजना, मातातीर्थले जारी गरेको सूचनाअनुसार स्युचाटार र टेकु उपकेन्द्रमा मर्मत तथा स्तरोन्नति कार्य गर्न शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ।
प्राधिकरणका अनुसार स्युचाटार उपकेन्द्रको बस प्रणाली बन्द गरेर मर्मतसम्भार तथा स्तरोन्नति कार्य गरिने भएकाले कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ।
सूचनाअनुसार कुलेश्वर वितरण केन्द्रका ५३, कीर्तिपुरका ११, रत्नपार्कका २० तथा पुल्चोकका १४ स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
कुलेश्वर वितरण केन्द्रअन्तर्गत कलंकी, रविभवन, बल्खु, नैकाप, सतुङ्गल, स्वयम्भू, छाउनी, टंकेश्वर, डल्लु, बिजेश्वरी, चःमतीलगायतका क्षेत्र प्रभावित हुनेछन्। त्यसैगरी कीर्तिपुर वितरण केन्द्रअन्तर्गत कीर्तिपुर, चोभार, टौदह, आदिनाथ, त्रिभुवन विश्वविद्यालय परिसरलगायतका स्थानमा विद्युत् सेवा अवरुद्ध हुनेछ।
रत्नपार्क वितरण केन्द्रबाट आपूर्ति हुने न्युरोड, धरहरा, सुन्धारा, हनुमानढोका, बसन्तपुर, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, असन, इन्द्रचोकलगायतका क्षेत्रमा पनि विद्युत् कटौती हुनेछ। यस्तै पुल्चोक वितरण केन्द्रअन्तर्गत सानेपा, झम्सीखेल, पुल्चोक, हरिहर भवन, नख्खु, बागडोल, धोबिघाट, भैंसेपाटी, कुपण्डोललगायतका क्षेत्र प्रभावित हुनेछन्।
प्राधिकरणले उक्त अवधिमा उपत्यकाका अन्य उपकेन्द्रबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत असर पर्न सक्ने जनाएको छ। साथै मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित समय परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ।
निर्धारित अवधिभित्रै सम्पूर्ण कार्य सम्पन्न गर्ने प्रयास गरिने भन्दै प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।