मकैको खोस्टाबाट आयआर्जनको बाटो, दमौलीमा महिलालाई सीपमूलक तालिम
दमौली — एक समय काम नलाग्ने वस्तु मानिने मकैको खोस्टा अहिले महिलाहरूका लागि आम्दानी, सीप र उद्यमशीलताको माध्यम बन्न थालेको छ। यही उद्देश्यका साथ दमौलीमा मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने पाँचदिने तालिम सुरु गरिएको छ।
जनभावना नेवाः खल मिसाः पुच दमौलीको आयोजना तथा व्यास नगरपालिका–३ वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा ४० जना महिलाको सहभागिता रहेको छ।
तालिममा सहभागी महिलाहरूलाई मकैको खोस्टाबाट सजावटी तथा उपयोगी सामग्री बनाउने व्यावहारिक सीप सिकाइँदै छ। खेर जाने सामग्रीको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
वडाध्यक्ष अनुप रानाले तालिमपछि उत्पादित सामग्रीको बजारीकरणका लागि समेत आवश्यक सहयोग गरिने बताइन्। उनले सीपलाई व्यवसायसँग जोड्न सके मात्र तालिमको वास्तविक उपलब्धि देखिने उल्लेख गरिन्।
व्यास नगरपालिकाका पूर्वप्रमुख ताराप्रसाद श्रेष्ठले स्थानीयस्तरमा खेर जाने सामग्रीलाई आम्दानीको स्रोत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। महिला उद्यमी सङ्घ गण्डकीकी उपाध्यक्ष निर्मला मल्लले सिर्जनशीलता र मेहनतले सामान्य वस्तुलाई पनि अवसरमा बदल्न सकिने धारणा व्यक्त गरिन्।
जनभावना नेवाः खल मिसाः पुचकी अध्यक्ष रश्मिला ताम्राकारका अनुसार महिलालाई आर्थिक गतिविधिसँग जोड्दै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।
जेठ २३ गतेसम्म सञ्चालन हुने तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षण दिइरहेका छन्। तालिमले महिलाको आत्मविश्वास बढाउनुका साथै स्वरोजगार र आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।