अगस्टअघि नयाँ एल निनो विकसित हुन सक्ने, डब्लुएमओको चेतावनी
संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले आगामी अगस्टको अन्त्यअघि नयाँ एल निनो विकसित हुन सक्ने चेतावनी दिएको छ। डब्लुएमओका जलवायु पूर्वानुमान प्रमुख विल्फ्रान मोउफोमा ओकियाले प्रत्येक एल निनो घटना फरक प्रकृतिको हुने भएकाले यसको प्रभावलाई एउटै ढाँचामा बुझ्न नसकिने बताएका छन्।
एएफपीसँगको कुराकानीमा ओकियाले एल निनो उष्णकटिबन्धीय प्रशान्त महासागरको समुद्री सतहको तापक्रम अस्थायी रूपमा बढ्ने प्रक्रियासँग सम्बन्धित प्राकृतिक जलवायु घटना भएको बताए। उनका अनुसार यसले विश्वका विभिन्न क्षेत्रमा चरम मौसम, असामान्य वर्षा तथा खडेरीको जोखिम बढाउँछ।
उनले एल निनोका कारण पश्चिम अफ्रिका, साहेल क्षेत्र, दक्षिण अफ्रिका, अस्ट्रेलिया तथा दक्षिणपूर्वी एसियामा खडेरी पर्ने सम्भावना रहने बताए। यता दक्षिणपूर्वी संयुक्त राज्य अमेरिका र भूमध्यरेखीय प्रशान्त क्षेत्रका केही भागमा अत्यधिक वर्षा हुन सक्ने उनले उल्लेख गरे।
ओकियाका अनुसार यसपटक मध्यमदेखि बलियो स्तरको एल निनो देखिन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उनले कमजोर एल निनोले प्रभाव पार्दैन भन्ने धारणा गलत भएको बताउँदै देश र परिस्थितिअनुसार यसको असर गम्भीर हुन सक्ने चेतावनी दिए।
डब्लुएमओका मोडेलहरूले करिब छ महिनाअघि नै सम्भावित पूर्वानुमान दिन सक्ने भएकाले देशहरूले विपद् तयारी तथा नीतिगत योजना बनाउन समयमै अवसर पाउने उनले बताए। यद्यपि कतिपय अवस्थामा एल निनोको प्रभाव कुनै देशको प्रतिक्रिया क्षमताभन्दा बढी हुन सक्ने उनको भनाइ छ।
सन् २०२३–२०२४ को एल निनोका क्रममा पनामामा वर्षा कमी हुँदा पनामा नहरको सञ्चालन प्रभावित भएको र त्यसको असर विश्वव्यापी व्यापारमा समेत परेको उदाहरण उनले दिए।
ओकियाले पछिल्ला वर्षहरूमा मौसमसम्बन्धी डेटा आदानप्रदान र अन्तर्राष्ट्रिय सहकार्यमा उल्लेखनीय सुधार भएको बताए। उनका अनुसार सन् १९९७ को तुलनामा सन् २०२३–२०२४ को एल निनोका क्रममा मानवीय क्षति कम देखिएको छ, जसले तयारी क्षमता बढ्दै गएको संकेत गर्छ।
उनले विश्वको एक भागमा हुने मौसमीय घटनाको सही पूर्वानुमानका लागि अर्को भागबाट प्राप्त तथ्याङ्क आवश्यक पर्ने भएकाले अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।