२४ घण्टामा २,२९७ सवारी चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं — बितेका २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २,२९७ सवारी चालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा २० लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १३४ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १०२ जना तथा तीव्र गतिमा सवारी चलाउने १०८ जनालाई कारबाही गरिएको हो।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने १४१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १८६ जना, सडक पेटीमा पार्किङ गर्ने १५८ जना, एकतर्फी सडकमा सवारी चलाउने ७७ जना तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १,२८८ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा र अनुशासन कायम राख्न नियमित रूपमा यस्ता अनुगमन तथा कारबाही अभियान सञ्चालन गर्दै आएको छ।