एकै दिन २ हजार ५१९ सवारीचालक कारबाहीमा, १९ लाखभन्दा बढी राजस्व सङ्कलन
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले एकै दिन २ हजार ५१९ सवारीचालकलाई सवारी नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा १९ लाख ३१ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
कारबाहीमा परेकामध्ये ९२ जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने, १६३ जना नियमविपरीत सवारी साझेदारी सेवा सञ्चालन गर्ने, ९९ जना सङ्केत बत्ती उल्लङ्घन गर्ने र ११५ जना तीव्र गतिमा सवारी चलाउने चालक रहेका छन्।
यस्तै, लेन अनुशासन पालना नगर्ने १०९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गरी सवारी चलाउने तीन तथा अत्यधिक धुवाँ फाल्ने १९ सवारीसाधनमाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
यसका अतिरिक्त विभिन्न सवारी नियम उल्लङ्घन गर्ने अन्य १ हजार ८१९ चालकलाई समेत कारबाही गरिएको छ। प्रहरीले सडक सुरक्षा र ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।