काठमाडौं महानगरद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी–रेबिज खोप सहयोग
काठमाडौं — काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १ हजार ८ सय भाइल एन्टी–रेबिज खोप उपलब्ध गराएको छ।
शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोल अस्पताल पुगेर खोप हस्तान्तरण गरेकी हुन्। उनले खोप अभाव हुने सम्भावनाबारे सूचना पाएपछि सम्भावित जनस्वास्थ्य जोखिम घटाउन तत्काल सहयोग गरिएको बताइन्।
डंगोलले रेबिज जोखिम न्यूनीकरणका लागि सबै पक्षले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिँदै जनावरले टोकेपछि तुरुन्त उपचार आवश्यक हुने र लक्षण देखिनु अघि नै खोप लगाउनुपर्ने बताइन्।
अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले दैनिक दुई सयभन्दा बढी व्यक्ति रेबिजविरुद्धको खोप लगाउन आउने गरेको जानकारी दिँदै महानगरले उपलब्ध गराएको खोपले करिब नौ दिनको सेवा सञ्चालन गर्न सकिने बताए।
उनका अनुसार अस्पतालले खोप खरिद प्रक्रिया अघि बढाइरहेको भए पनि मौज्दात न्यून भएकाले सेवा अवरुद्ध नहोस् भनेर तत्काल सहयोग मागिएको थियो। माग गरेको सात दिनभित्रै महानगरले खोप उपलब्ध गराएको अस्पतालले जनाएको छ।