नेपालमा वायु प्रदूषण नियन्त्रणका लागि ‘एनक्याप’ परियोजना सुरु हुने
काठमाडौँ — सरकारले देशको वायु प्रदूषण नियन्त्रण र स्वच्छ वातावरण प्रवर्द्धनका लागि ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (एनक्याप)’ कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ देखि सुरु हुने उक्त परियोजना करिब रु ८ अर्ब ७१ करोड (५७ मिलियन अमेरिकी डलर) लागतमा सञ्चालन हुनेछ। यसमध्ये विश्व बैंकको ५२ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर अनुदान रहनेछ।
परियोजनाअन्तर्गत उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्ने, वायु गुणस्तर मापन केन्द्र विस्तार गर्ने, तथा प्रदूषण स्रोतहरूको अनुगमन प्रणाली सुदृढ गर्ने योजना रहेको वातावरण विभागले जनाएको छ।
अधिकारीहरूका अनुसार विद्युतीय तथा बायोमास आधारित प्रविधिमा रूपान्तरण हुने उद्योगलाई १० देखि २० प्रतिशतसम्म पुँजीगत अनुदान उपलब्ध गराइनेछ। करिब ४०० उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच दिने लक्ष्य राखिएको छ।
परियोजनाले पीएम–२.५ उत्सर्जन वार्षिक ५०० मेट्रिक टनले घटाउने तथा करिब ६० हजार श्रमिक र १ करोड ८० लाख जनसंख्या प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान गरिएको छ।
वातावरणविद्हरूले भने परियोजनाको सफलताका लागि पारदर्शिता, प्रभावकारी कार्यान्वयन र प्रदूषणका प्रमुख स्रोतमा लक्षित हस्तक्षेप आवश्यक रहेको बताएका छन्।