पछिल्लो २४ घण्टामा विपद्का १८ घटना, एक जनाको मृत्यु, एक बेपत्ता
काठमाडौं — पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपद्का घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता तथा ६ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल १८ वटा विपद्का घटना दर्ता भएका छन्।
प्राधिकरणका अनुसार सोलुदूधकुण्ड नगरपालिका–१को फुलेली क्षेत्रमा भैँसीले लछार्दा ६३ वर्षीय एक पुरुषको मृत्यु भएको छ। यस्तै, सगरमाथा आरोहणका क्रममा खराब मौसमका कारण बाटो हराएका पोल्याण्डका एक नागरिक बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको जनाइएको छ।
यस अवधिमा पाँचथर, सुनसरी, उदयपुर, धनुषा, सिरहा, बारा, नवलपरासी (पूर्व) र दाङमा आगलागीका आठ वटा घटना भएका छन्। ती घटनाबाट घर, गोठ, मकैबाली, प्लास्टिकका बोरा लगायतका सामग्रीमा क्षति पुग्दा करिब ९ लाख ४३ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, डोल्पा भ्रमणमा गएका एक संयुक्त राज्य अमेरिकाका नागरिक लेक लागेर बिरामी परेका छन्। रुकुम पूर्वमा चट्याङ लाग्दा एक महिला घाइते भएकी छन् भने पर्सा र अछाममा भएका सर्पदंशका दुई घटनामा दुई बालिका घाइते भएका छन्।
यस्तै, उदयपुरमा बाँदरको आक्रमणबाट एक पुरुष घाइते भएका छन् भने बर्दियामा चितुवाको आक्रमणबाट जोगिन खोज्दा भैँसीले कुल्चेर अर्का एक पुरुष घाइते भएका छन्। साथै, मोरङमा जंगली हात्तीले चिया–नास्ता पसलमा क्षति पुर्याएको विवरण सार्वजनिक गरिएको छ।
प्राधिकरणका अनुसार अधिकांश घटनामा नेपाल प्रहरी, दमकल तथा स्थानीयवासीको सहयोगमा उद्धार, नियन्त्रण र राहतका कार्य सम्पन्न गरिएको छ।