उम्मेदवारी विवादपछि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आन्तरिक कलह
धरान, जेठ २० — आगामी निर्वाचनका लागि हर्कराज साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीमा आन्तरिक विवाद चर्किएपछि असन्तुष्टि र राजीनामाको श्रृंखला देखिएको छ।
पार्टीका केन्द्रीय सदस्य पूर्ण गहतराज विश्वकर्मासहित पाँच जनाले सामूहिक राजीनामा दिएपछि अध्यक्ष साम्पाङले उनीहरूलाई पार्टीबाट निष्काशन गरेका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत केन्द्रीय सदस्य गहतराज र प्रदेश सदस्य राखी मेवाहाङलाई पार्टीबाट हटाइएको जानकारी दिएका हुन्। यसअघि गहतराजसहित पाँच नेताले विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेका थिए।
राजीनामा दिने समूहमा प्रदेश सदस्य विष्णुकुमारी राई, निनाचन्द्र राई, नरहरि राई र अटलसिंग राई पनि रहेका छन्।
उनीहरूले साम्पाङले आफूहरूलाई धरानको मेयर उम्मेदवार बनाउने आश्वासन दिएर पार्टीमा भित्र्याए पनि पछि अर्को व्यक्तिलाई उम्मेदवार घोषणा गरेको आरोप लगाएका छन्।
गहतराज समूहले गत वैशाख १५ गते पार्टी प्रवेश गर्दा मेयर उम्मेदवारीबारे सहमति भएको दाबी गर्दै पछि धनबहादुर राईलाई उम्मेदवार बनाइएकोमा असन्तुष्टि जनाउँदै पार्टी छोडेको जनाएको छ।
यसबीच, गहतराजले सामाजिक सञ्जालमा भावनात्मक अभिव्यक्ति दिँदै साम्पाङसँगको सम्बन्ध टुटेको संकेत गरेका छन्।
२०७९ को स्थानीय निर्वाचनमा धनबहादुर राई नेकपा एमालेबाट धरान–४ का वडाध्यक्ष निर्वाचित भएका थिए र पछि राजीनामा दिएर श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।