आईटी बजेट नीतिको स्वागत गर्दै नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनी
काठमाडौं, जेठ २० — आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने सरकारका नीतिगत कदमहरूको नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीले स्वागत गरेको छ।
संस्थाले सूचना प्रविधि सेवा निर्यात, विदेशी मुद्रा आर्जन, उच्च गुणस्तरीय रोजगारी सृजना तथा नेपाललाई विश्वव्यापी डिजिटल सेवा गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा बजेटले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
बजेटमा आइटी सेवा निर्यातबाट हुने आम्दानीमा कर सहुलियत, स्वेट इक्विटीसम्बन्धी कर व्यवस्थामा सुधार, तथा उच्च आयकर दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा झार्ने व्यवस्था जस्ता प्रावधानहरू उद्योगमैत्री भएको संस्थाको भनाइ छ।
त्यस्तै भ्याट फिर्ता प्रक्रिया थप व्यवस्थित र स्वचालित बनाउने, दोहोरो कर परिहार सम्झौता विस्तार गर्ने तथा कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन र डिजिटल अर्थतन्त्र प्रवर्द्धनका कार्यक्रमहरू समावेश हुनु सकारात्मक भएको उल्लेख गरिएको छ।
संस्थाले सरकारको दीर्घकालीन डिजिटल अर्थतन्त्र लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धी कर तथा लगानीमैत्री नीति आवश्यक रहेकोमा जोड दिएको छ।
साथै, सरकारसँग सहकार्य गर्दै नेपाललाई दक्षिण एसियाको अग्रणी डिजिटल तथा आईटी सेवा केन्द्रका रूपमा स्थापित गर्ने र देशमै लाखौँ उच्च पारिश्रमिकयुक्त प्रविधि रोजगारी सृजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यद्यपि, सरकारको १०० बुँदे कार्यक्रम र राष्ट्रिय प्रतिबद्धतापत्रमा समेटिएका केही आईटीसम्बन्धी नीतिगत तथा संरचनात्मक व्यवस्था बजेटमा नपरेको भन्दै संस्थाले ध्यानाकर्षण गराएको छ।