मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई ४ वर्ष १ महिना कैद
काठमाडौं, असार ३ — सरोजकुमार सिंहलाई घुस तथा कमिशन लिएको आरोपमा दोषी ठहर गर्दै विशेष अदालतले ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले यसअघि सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा दोषी ठहर गरेको थियो।
सजाय निर्धारण गर्दै अदालतले सिंहलाई ४ वर्ष कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो। अदालतका अनुसार विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिशनबापत प्राप्त ३८ लाख ५० हजार १३९ रुपैयाँलाई भ्रष्टाचारको बिगो कायम गरिएको छ। सोही बराबरको रकम जरिवाना तथा जफत गर्न पनि आदेश दिइएको छ।
घटना भएको समयमा सिंह महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख)बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य रहेकाले भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप सजायसमेत निर्धारण गरिएको अदालतले जनाएको छ। उक्त व्यवस्थाअनुसार उनलाई थप १ महिना कैद सजाय सुनाइएको हो।
यसका साथै अदालतले सिंहबाट जरिवानाको आधारमा १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न उपभोक्ता समितिहरूबाट कमिशन लिएको आरोपमा सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले आयोगको दाबी पुष्टि गर्दै उनलाई दोषी ठहर गरेको हो।