इरानी हमलापछि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो क्षति, उडान सेवा स्थगित
कुवेत सिटी, जेठ २० — कुवेतले इरानको एक हमलामा देशको अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो क्षति पुगेको जनाएको छ। हमलामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्।
कुवेती समाचार एजेन्सीका अनुसार हमलापछि सबै व्यावसायिक उडानहरू अस्थायी रूपमा निलम्बन गरिएको छ। एयरपोर्टमा भएको क्षतिका कारण अर्को सूचना जारी नभएसम्म उडानहरू अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको जनाइएको छ।
घटना इरान र अमेरिकाबीचको बढ्दो तनावका बीच भएको हो। इरानले अमेरिकाका हालैका सैन्य कारबाहीको आलोचना गर्दै ती कार्यहरू युद्धविराम र अन्तर्राष्ट्रिय कानुनविपरीत भएको दाबी गरेको छ।
इरानी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा कुवेत र बहराइनलाई अमेरिकी अपरेसनमा आफ्नो भूमि तथा सैन्य संरचना प्रयोग गर्न दिएको आरोप लगाउँदै त्यसका लागि जिम्मेवार ठहर गरेको छ। मन्त्रालयले इरानलाई आत्मरक्षाको अधिकार रहेको उल्लेख गर्दै भविष्यमा कुनै पनि हमलाको स्रोतलाई निशाना बनाउने चेतावनीसमेत दिएको छ।
कुवेती सेनाका अनुसार ड्रोन तथा मिसाइलमार्फत गरिएको हमलाले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको एक टर्मिनलमा गम्भीर क्षति पुर्याएको छ। हमलामा एक जनाको ज्यान गएको पुष्टि भएको छ भने घाइतेहरूको उपचार भइरहेको छ।
जनरल सिभिल एविएशन अथोरिटीले विमानस्थलको सुरक्षा अवस्था मूल्यांकन भइरहेकाले उडान सेवा तत्कालका लागि स्थगित गरिएको जनाएको छ।