भारत भ्रमणमा रहेका रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता
नयाँदिल्ली, जेठ २० — पाँच दिने भारत भ्रमणमा रहेका रवि लामिछाने र नरेन्द्र मोदीबीच बुधबार बिहान नयाँदिल्लीमा भेटवार्ता भएको छ।
भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री मोदीले लामिछानेसँग विशेष भेटका लागि समय छुट्याएका थिए। भेटपछि मोदीले नेपालमा बनेको नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।
मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै साझा र समृद्ध भविष्य निर्माणका लागि मिलेर काम गर्ने लामिछानेको इच्छाप्रति आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्।
“राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको इच्छालाई स्वागत गर्दछु र पूर्ण रूपमा सहमत छु,” मोदीले उल्लेख गरेका छन्।
उनले भारतको ‘Neighbourhood First Policy’ (छिमेकी पहिलो नीति) अन्तर्गत नेपाललाई प्राथमिक साझेदार राष्ट्रका रूपमा लिइएको पनि बताएका छन्।
मोदीका अनुसार नेपाल र भारतबीच विशेष तथा बहुआयामिक सम्बन्ध रहेको छ। उनले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा साझा हितका विषयमा छलफल भएको बताइएको छ। नेपालमा नयाँ सरकार गठनपछि उच्च तहमा भएको यो भेटलाई दुई देशबीचको कूटनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।