रास्वपा केन्द्रीय सदस्यमा २३ वर्षीया आकाङ्क्षा पोखरेल निर्वाचित
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया आकाङ्क्षा पोखरेललाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ।
भरतपुर निवासी पोखरेलले बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा विजय हासिल गरेकी हुन्।
जिल्लामा दुई वर्ष पत्रकारिता गरेकी पोखरेल हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छिन्। रास्वपाको स्थापना कालदेखि नै सक्रिय रहँदै आएकी उनले यसअघि पार्टीको भरतपुर महानगर सदस्य र कोषाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।
निर्वाचनपछि संक्षिप्त प्रतिक्रिया दिँदै पोखरेलले आफू नेपालका प्रमुख राजनीतिक दलमध्ये सम्भवतः सबैभन्दा कम उमेरमा केन्द्रीय सदस्य बन्न सफल भएको दाबी गरिन्।
उनले ‘जेन–जी’ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाउँदै भनिन्, “मुलुकको सबैभन्दा ठूलो पार्टीको केन्द्रीय सदस्यमा विजयी भएसँगै मेरो जिम्मेवारी थपिएको छ। मलाई विश्वास गरी मतदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, रास्वपा नेता–कार्यकर्ता तथा शुभचिन्तक सबैलाई धन्यवाद दिन चाहन्छु।”
पोखरेलको जितलाई रास्वपाले युवा सहभागिता र नेतृत्व विकासतर्फको महत्वपूर्ण उपलब्धि रूपमा लिएको छ।