उपत्यकामा एकै दिन १,२९९ चालक कारबाहीमा, २३ लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा सवारी नियम उल्लङ्घन गर्ने १ हजार २९९ जना चालकलाई कारबाही गरेको जनाएको छ। उक्त कारबाहीबाट राज्यकोषमा २३ लाख ७१ हजार ४२ रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ११९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६० जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १३४ जना तथा तीव्र गतिमा सवारी चलाउने ११८ जनामाथि कारबाही गरिएको हो।
त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ११४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना, सडक पेटीमा पार्किङ गर्ने १२० जना र एकतर्फी सडकमा सवारी चलाउने १४४ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।