इरानसँगको प्रारम्भिक शान्ति समझौतामा ट्रम्प प्रशासनभित्रै विवाद, रिपब्लिकन पार्टी विभाजित
वासिङ्टन — इरानसँग गरिएको प्रारम्भिक शान्ति समझौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राजनीतिक रूपमा दबाबमा पारेको छ। रिपब्लिकन पार्टीभित्रै यस सम्झौताप्रति पूर्ण समर्थन नदेखिएपछि यसको भविष्य अनिश्चित बनेको छ।
समाचार संस्था सिमाफोरका अनुसार पार्टीका शीर्ष नेताहरूले सम्झौताका सबै विवरण सार्वजनिक नभएसम्म समर्थन वा विरोध गर्ने निर्णय गर्न हतार गर्न नहुने बताएका छन्। उनीहरूले सम्झौताबाट अमेरिकालाई हुने फाइदा, इरानलाई दिइने सहुलियत र यसको दीर्घकालीन सुरक्षा तथा राजनीतिक प्रभावबारे स्पष्टता आवश्यक रहेको बताएका छन्।
यसैबीच ट्रम्प प्रशासनभित्रै पनि मतभेद देखिएको छ। सीआईए प्रमुख जोन र्याक्टक्लिफले इरानले आफ्नो प्रतिबद्धता पूरा गर्ने विषयमा शंका व्यक्त गरेका छन्। विदेशमन्त्री मार्को रुबियोले इरानले परमाणु कार्यक्रमसम्बन्धी अपेक्षित कदम नचालेको टिप्पणी गरेका छन् भने रक्षामन्त्री पिट हेगसेथले पनि सम्झौताप्रति चिन्ता व्यक्त गरेका छन्।
तर उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विटकफ र जेरेड कुशनर भने सम्झौतालाई अघि बढाउनुपर्ने पक्षमा रहेको बताइएको छ।
वाल स्ट्रिट जर्नलका अनुसार राष्ट्रपति ट्रम्पले उक्त प्रारम्भिक सम्झौताको घोषणा सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आकस्मिक रूपमा गरेका थिए। रिपोर्टअनुसार उनले ह्वाइट हाउसमा डिजिटल हस्ताक्षर गर्ने क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन वार्ता गरिरहेका थिए, जसले केही सहयोगीहरूलाई समेत आश्चर्यमा पारेको थियो।
इरानसँगको यो प्रारम्भिक समझौता पश्चिम एसियामा तनाव कम गर्ने प्रयासका रूपमा प्रस्तुत गरिए पनि रिपब्लिकन पार्टीभित्र सहमति नजुटेसम्म यसको कार्यान्वयन र भविष्य अनिश्चित रहेको विश्लेषण गरिएको छ।