वर्षाका कारण मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम प्रभावित
काठमाडौं । गृहमन्त्री नियुक्त भएका सुधन गुरुङ र विज्ञान तथा नवप्रवर्द्धन मन्त्री नियुक्त भएका महावीर पुनको शपथ ग्रहण कार्यक्रम वर्षाका कारण प्रभावित भएको छ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा अपराह्न साढे ४ बजेका लागि तय गरिएको शपथ ग्रहण समारोह काठमाडौं उपत्यकामा परेको अविरल वर्षाका कारण प्रभावित बनेको हो।
शपथ कार्यक्रममा सहभागी हुने पाहुनाहरूका लागि शीतल निवासको चौरमा टेन्टसहित बस्ने व्यवस्था गरिएको भए पनि ठूलो पानी परेपछि कार्यक्रम सञ्चालनमा केही असहजता उत्पन्न भएको छ।
गुरुङ र पुन शपथ ग्रहणका लागि शीतल निवास पुगिसकेका छन्। गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ भने स्वतन्त्र सांसद पुनले विज्ञान तथा नवप्रवर्द्धन मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन्।
गुरुङको पुनर्नियुक्तिलाई लिएर भने राजनीतिक वृत्तमा चर्चा भइरहेको छ। अच्युतम् भण्डारी नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्मा पुगेको केही समयमै उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको छ।
यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका महावीर पुनले अब विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन क्षेत्रको नेतृत्व गर्नेछन्। वर्षाका कारण केही प्रभावित भए पनि शपथ ग्रहण कार्यक्रम सम्पन्न गराउने तयारी जारी रहेको जनाइएको छ।